प्रधानमन्त्रीको ठाडो आदेशमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन : गगन थापा

Gagan thapa
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली कांग्रेसका नेता गगन थापाले एमाले नेताहरुको विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट उपलब्ध गराउने निर्णय कानुनविपरीत भएको बताएका छन्।

एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च राज्यले तिर्ने निर्णयप्रति लक्षित गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्रीको ठाडो आदेशमा कानुन मिचेर विदेशमा गरिएको उपचार खर्च तिर्ने गरिएको आरोप लगाएका छन्।

विदेशमा उपचार गरेका व्यक्तिको राज्यले खर्च व्यहोर्ने प्रचलन गलत रहेको भन्दै आफू स्वास्थ्यमन्त्री हुँदा रोकेको थापाले जानकारी दिएका छन्। ‘यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ’ थापाले भनेका छन्, ‘तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’ ओली सरकारले ल्याएको विधेयकमै कसैलाई पनि विदेशमा उपचार गरेको खर्च दिन नमिल्ने गरी आफूले बुँदा थपेको थापाले बताएका छन्।

यो संशोधन संसदले स्विकार्दै संसदबाट पास भएर बनेको कानून २०७५ असोज २ गतेदेखि लागु भएको जानकारी थापाले दिए। कानुन अनुसार राज्यको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने थापाले स्पष्ट पारेका छन्। ‘अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। पोस्ट कोभिडको समस्या भएपछि करिब १ महिना देखि झलनाथ खनाल दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्