श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता

pic
लोकपाटी न्यूज

एजेन्सी। श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरिएको छ। मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त गरिएको छ। यसअघि राष्ट्रपति, प्रधानमन्त्री र प्रभावशाली मन्त्रीमा राजापाक्षे परिवारका दाजुभाई रहेकै समयमा पछिल्लो पटकको मन्त्रिपरिषद विस्तारमा फेरि नयाँ सदस्य थपिएको हो।

बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइलाई नयाँ मन्त्री बनाइएको हो। बिहीबार मन्त्री बनाइएकामा ७० वर्षीय बासिल राजापाक्षे हुन्। उनलाई श्रीलंका सरकारको महत्वपूर्ण मन्त्रालय अर्थात् अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। ७५ वर्षका प्रधानमन्त्री महिन्दा यसअघि, सन् २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। उनी राष्ट्रपति रहेका समयमा भाइ बासिलले नै आर्थिक रणनीति बनाउने गरेको श्रीलंकाली सञ्चारमाध्यमहरुले जनाएका छन्।

यद्यपि, उनीमाथि ठूला परियोजनाहरुमा कमिशन लिने गरेको आरोप लागेको छ। त्यही कारण उनलाई दश प्रतिशतको संज्ञासमेत दिइन्थ्यो। सन् २००७ मा अमेरिकी राजदूतावासले उनलाई ‘मिस्टर १० प्रतिशत’ भन्ने गरेको विकिलिक्सले लिक गरेको थियो। उनलाई मन्त्री बनाइसँगै अब मन्त्रिपरिषदमा राजापाक्षे परिवारबाट मन्त्री बन्नेको संख्या पाँच पुगेको छ। राजापाक्षेका ७८ वर्षीय जेठा दाई छामल भने सिँचाइ मन्त्री हुँदा महिन्दाका छोरा ३५ वर्षीय नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार राजापाक्षे परिवारका अरु थुप्रैंलाई सहायक मन्त्री र प्रशासनका महत्वपूर्ण पदमा नियुक्त गरिएको छ।