गण्डकी प्रदेशमा बजेट पारितपछि सरकारले पूर्णता प्राप्त गर्ने

लोकपाटी न्यूज

काठमाडाैँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिए। सरकारका प्रवक्ता एवं शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेशसभा सञ्चालन गरेर बजेट माथि छलफल शुरू गरिने जानकारी दिए।

उनले भने, ‘हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौं, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरू गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौं।’ सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उनले स्पष्ट पारे।

मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्