काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। पार्टीको विवाद समाधानका लागि मंगलवार औपचारिक छलफल हुन लागेका हो। सिंहदरबारमा केहीबेरअघि सुरु भएको बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका छन्।
ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मिलाउन दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। उनीहरुको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदल मार्फत सहमतिको गृहकार्य सुरु भएको हो।
बैठकमा पार्टीका विवाद र त्यसको समाधानबारे छलफल भइरहेको नेता भीम रावलले जानकारी दिए। यसअघि सोमबार सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका कार्यदल सदस्यहरू पार्टीका आन्तरिक समस्यालाई निष्कर्षमा पुर्याउनुपर्नेमा एकमत देखिएका थिए।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले एकपछि अर्को गर्दै गैरसंवैधानिक कदम चालेको, विधि, विधान फिटिक्कै नमानेको भन्दै एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल नेतृत्वको समूह रुष्ट छ। संस्थापन पक्षचाहिँ पार्टीलाई साथ दिनुपर्ने बेला विपक्षी गठबन्धसँग काँध मिलाएको भन्दै खनाल-नेपाल समूहसँग असन्तुष्ट छ।
प्रधानमन्त्री ओलीले गत ५ पुसमा गैरसंवैधानिक रूपमा संसद् भंग गर्दा खनाल-नेपाल समूह ओलीको त्यो कदमविरुद्ध भएको आन्दोलनमा सहभागी भएको थियो। ८ जेठमा दोस्रो पटक भएको संसद् विघटनको पनि नेपाल समूहले विरोध गरिरहेको छ। यति मात्र होइन, उसले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइपाऊँ भनी अदालतमा पेस गरिएको निवेदनमा आफ्ना सांसदलाई हस्ताक्षर पनि गराएको छ।
यही रिसले ओली पक्षले खनाल-नेपाल पक्षलाई कारबाही गरेको थियो। यसरी विवाद बढेको बढ्यै गरेपछि दोस्रो तहका नेताहरूको सक्रियतामा हिजो कार्यदल ब्युँताइएको छ। २ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन। पार्टीभित्रका विवाद कार्यदलमार्फत नै समाधान गर्नेगरी गृहकार्य भइरहेको नेताहरूले बताएका छन्।
कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन्। ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल-नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।



लोकपाटी न्यूज

