काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने बताएका छन्। निर्वाचन आयोगले सहमतिका लागि मंगलबार बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्।
मंगलबार निर्वाचन आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो। तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ। आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ।
मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।
आयोगमा उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी आयोग पुगेका थिए भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए।



लोकपाटी न्यूज

