संजय सहनी/ महोत्तरी, २१ असार। प्रदेश नम्बर २ को महोत्तरी क्षेत्र नम्बर ३ (ख) का प्रदेश सासंद रानी शर्मा तिवारीले केही विकास विरोधी तत्वले आफ्नो कु–प्रचारमा लागेको आरोप लगाएकी छन्। सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा सांसद तिवारीले निर्वाचित भएदेखि नै यस क्षेत्रको चौतर्फी विकासबारे गम्भीर भई लागेता पनि विकास विरोधी केही समूहले बिना कारण आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएकी हुन्।
सांसद तिवारीले कहिले आफू खुसी उपभोक्ता समिती निर्माण गरेर त कहिले विभिन्न योजनाको स्टिमेट अनुरुप काम नगरी भ्रष्टाचार गरेको,आर्थिक अनियमितता गरेको भनेर आरोप लगाउने कार्य भ्रामक र कपोलकल्पित भएको भन्दै आक्रोश पोखीन्। विभिन्न योजनाको उपभोक्ता समिती बनाउने काम समन्धित वडा अध्यक्ष, नगरपालिकाको भए ता पनि सांसदले आफ्नो आदेशमा उपभोक्ता समिती बनायो भनेर आरोप लगाउनु गलत भएको बताइन्।
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ८ सहसराम गाँउमा सडक निर्माणका लागि नगरपालिकामा आएको सशर्त अनुदानको बजेट र बनेको उपभोक्ता समितीसँग आफ्नो नाम जोडेर विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइन्। सांसद तिवारीले समाचारमा भनिए अनुसारको उपभोक्ता समितिमा कहि कतै आफ्नो हस्ताक्षर नभएको दावी गरिन्। तिवारीले निर्वाचित भए देखि अहिलेसम्म आफ्नो निर्देशनमा कुनै पनि फर्जि उपभोक्ता समिती निर्माण,भ्रष्टाचार र अनियमितता नगरिएको समेत स्पष्ट पारिन्।
सांसद तिवारीले भनिन्,‘जनता मेरा भगवान हुन्, विकासप्रेमी जनताले भने अनुसार क्षेत्रमा विभिन्न विकास निर्माण र गतिविधिमा व्यस्त छु,केही समूहले भए नभएको मनगढ्न्ते कुरा गर्दै भ्रम छर्दैछ। एक दिन सबैको हिसाब किताब दूधको दूध पानीको पानी हुनेछ।बिना प्रमाण,तथ्य,आधारहिन कुरा गर्नु पागलपन नै हो।’
‘विभिन्न योजनाको स्टिमेट बनाउने,नाप जोख गरि बिल भुक्तानीको लागि स्वीकृत गर्ने काम प्राबिधिकको भएको सबैलाई थाह छ। मेरो निर्देशनमा भएको काम स्टिमेट अनुसार भएको र जति काम भएको छ। त्यति नै भुक्तानी भएको ठोकुवा गर्छु, उनले भनिन्। सांसद तिवारीले लाखौं, करोडौं लुट्यो भनेर भन्नेलाई स्थलगत डिटेल बुझेर बोल्न र लेख्न समेत चेतावनी दिइन्।



लोकपाटी न्यूज

