काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रिस शान्त गर्नुपर्ने बताएका छन्। आइतबार बसेको राष्ट्रिय सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन्।
त्यस्तै उनले एमालेको यो अवस्थामा पार्टीका नेताहरुलाई पनि नआत्तिकन धैर्यधारण गर्नका लागि आग्रह गरेको उल्लेख गरेका छन्। उनले आफूले ओली र माधव नेपालको रिसलाई कसरी शान्त पार्न सकिन्छ भन्नेतर्फ लागेको बताए। उनले भने, ‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ।
यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन। म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु।’ नेता गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरेका छन्। ‘एकता सम्भव छ। अहिले सम्भव नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ’, उनले भने।



लोकपाटी न्यूज

