माधव नेपाल समूहलाई हस्ताक्षर फिर्ता गर्न सोमबार साँझसम्मको समयसीमा

Madhav Kumar Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले माधवकुमार नेपाल समूहका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ। शुक्रबार बसेको पार्टीको १३औँ केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बहुदलीय प्रणालीमा दलको निर्णयविपरित दलका सदस्यले गरेका हस्ताक्षरको मान्यता नहुने उनको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ज्ञवालीले भने, ‘आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनायोस् भन्दै हस्ताक्षर लिएर राष्ट्रपति र सर्वोचच अदालत जानु संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्र र जनताको मतसँग मेल नखाने भएको ठहर गर्दै सोमबार साँझ ५ बजेसम्म उक्त हस्ताक्षर फिर्ता लिन आह्वान गरेका छौँ।’

संविधानको धारा ७६(५) बमोजिमका प्रधानमन्त्रीको आह्वान भएपछि माधवकुमार नेपाल पक्षले केपी ओलीको विपक्षमा उठेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तर, राष्ट्रपतिले ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा माधव नेपालसहितका १ सय ४६ सांसद्ले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट निवेदन पेश गरेका थिए।

बैठकले पार्टी एकतालाई सुदृढ गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्दै एकताका सक्दो योगदान गर्न पनि आग्रह गरेको छ। साथै चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १ सय वर्ष पूरा गरेको अवसरमा बधाई एवं शुभकामना दिँदै युगान्तकारी र चामत्कारिक परिवर्नका लागि पनि शुभकामना दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्