प्रदेश १ सभाको चालू बजेट अधिवेशन स्थगित

pradesh sava 1
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश १ सभाको चालू बजेट अधिवेशन पाँच दिनसम्मका लागि स्थगित गरिएको छ। रोस्ट्रमबाटै सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्छ भन्दै विपक्षी दल माओवादी केन्द्रका सांसदले अवरोध जारी राखेपछि चालू बजेट अधिवेशन २० असारसम्मका लागि स्थगित भएको हो।

सांसद मोहन खड्कालाई गाली गर्ने प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आत्मालोचनासहित माफी नमागेको भन्दै विपक्षी दल माओवादी केन्द्रले मंगलबार दिउँसो सुरु भएको बैठकमा अवरोध पुर्‍याएका थिए। बैठक सुचारु गराउन आग्रह गर्दा पनि माओवादी केन्द्रका सांसदले नमानेपछि सभामुख प्रदीपकुमार भण्डारीले २० असारसम्म जारी बजेट अधिवेशन स्थगित गराएका छन्।

चालू बजेट अधिवेशनको छलफलको उत्तर दिने क्रममा आइतबार प्रदेश १ सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आफ्नै जिल्ला ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई रोस्ट्रमबाटै अमर्यादित शैलीमा गाली गरेकोले आत्मालोचनासहित माफी माग्नुपर्ने र उनले बोलेका कुराहरू रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको माग छ। उनीहरूले १४ असारमा पनि अवरोध पुर्‍याएपछि संसद् बैठक स्थगित भएको थियो।

प्रदेश १ सभामा आगामी वर्षका लागि १ असारमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकबारे मन्त्रालयगत छलफल सुरु भएको छ। मंगलबार सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विनियोजनबारे छलफल हुने कार्यसूची थियो। बजेट छलफलका क्रममा ओखलढुंगाका सांसद मोहनकुमार खड्काले योजना बाँडफाँडमा विभेद गरेको र मुख्यमन्त्री र भौतिकमन्त्रीले मात्र आफ्नो निर्वाचन क्षेत्रमा सुटुक्क करोडौँका योजना पारेको भन्दै विरोध गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्