गण्डकी प्रदेशका चार मन्त्रीले पाए जिम्मेवारी

लोकपाटी न्यूज

पोखरा। गण्डकी प्रदेशमा चार मन्त्रालयको टुंगो लगाइएको छ।  दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन भने अझै केही दिन लाग्ने भएको छ।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार प्रदेश सरकारका प्रवक्ता तोकिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइने भएको छ। यसअघि अर्थमन्त्रालय दिने सहमति गरेको जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारी (गुरुङ)लाई स्वास्थ्य तथा जनसंख्या तथा स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

लामो समयदेखि मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसकेको हुँदा आफूहरु केही लचिलो बनेर सहमति गरेको मन्त्री हरिशरण आचार्यले बताए।कार्यविभाजन टुंगिनसकेको भन्दै उनले अहिले गरिएको कार्यविभाजन अस्थायी भएको पनि उल्लेख गरे । चार मन्त्रीको कार्यविभाजन आइतबार तोकिने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएका थिए। मुख्यमन्त्रीको शपथसँगै नियुक्त गरिएका अन्य चार मन्त्री विना विभागीय थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्