काठमाडाैँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन्। विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताए।
उनले छोटो समयमा पेश गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर (सरभाइकल) क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए। उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुकै स्तरोन्नती गरी २५ देखि ५० शैयाको बनाउने योजना बजेटमार्फत अगाडि बढाएको बताए।
मुख्यमन्त्री पोखरेलले सरकारले आगामी बर्षदेखि प्रदेशमा ५ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए। उनले गण्डकी विश्वविद्यालय मार्फत प्रदेशमा स्वरोजगारी सिर्जना गर्नका लागि विभिन्न विषयका सीपमुलक प्राविधिक शिक्षालयहरू सञ्चालन गर्ने समेत बताए। उनले प्रदेशमा नागरिकका लागि सामाजिक सुरक्षा कोषको स्थापना गर्ने सरकारको योजना रहेको बताए।
मुख्यमन्त्री पोखरेलले कोभिडका कारण परिवार गुमाएका परिवारका सदस्यलाई सरकारले आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु शुरु गरेको बताए। उनले प्रदेशका ११ वटै जिल्लाहरुमा स्मारक पार्क निर्माण गर्ने सरकारको योजना रहेको बताए। प्रदेशको विकास र सुशासनका लागि सरकारले विभिन्न योजना अगाडि बढाएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्ष दललाई समेत विश्वासको मत दिन आग्रह गरे।



लोकपाटी न्यूज

