काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ। अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए।
सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ। निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो। यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ। निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो।
निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो। तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो। निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको यो अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा बढीमा १५ प्रतिशत मात्र नाफा राखेर घटाउने निर्णय गरेको हो।
आयल निगमको यो निर्णयसँगै अब नेपाल वायुसेवा निगमको वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ।



लोकपाटी न्यूज
