गगन थापाले भने, प्रधानमन्त्रीज्यू अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले महामारी नियन्त्रणमा सरकारले ध्यान नदिनु आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारको ध्यान अहिले महामारी नियन्त्रणमा हुनुपर्ने बताए।

थापाले लेखेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ।’ थापाले थप लेखेका छन्, ‘तर, प्रधानमन्त्री ज्यू यो लडाईँमा ’हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ !’

थापाले अझैपनि महामारी नियन्त्रणका लागि हामीसँग स्रोत र साधन भएको भन्दै त्यसका लागि सरकार तयार हुनुपर्ने बताए। उनले महामारी नियन्त्रणमा आफूहरु सरकारको साथमा रहेको पनि बताए। थापाले लेखेका छन्, ‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।’ उनले थपेका छन्, ‘प्रधानमन्त्री ज्यू, हामी साथ दिन तयार छौँ । कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’