काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा भ्यु टावर निर्माण अघि बढाएका व्यवसायी मनोज भेटवालसहित ६ जनालाई नियन्त्रण लिएर विशेष अदालत काठमाडौंमा ११ वटा मुद्दा दायर गरेको छ।
यीबाहेक विभिन्न व्यक्तिका विरुद्धमा पनि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ। आयोगले साविकको रोयल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका संचालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका संचालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो।
सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो। भिन्दाभिन्दै सम्पत्ति हानी-नोक्सानीको कसुरमा ११ वटा आरोपपत्र दायर गरि कुल ४० करोड ३३ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।



लोकपाटी न्यूज
