काठमाडौं। संसद पुर्नस्थापनापछि आज पहिलो पटक संसदको बैठक बस्दै छ। बैठक आज दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभाको आइतबार बस्ने पहिलो बैठकका लागि तयार गरिएको ’बिजनेस’ हटाइएको छ।
सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची मात्र कायम राखिएको छ। नेकपाको आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि संभावित कार्यसूची सभामुख अग्नी सापकोटाको निर्देशनमा हटाइएको हो।
बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समिति बसेर सभा संचालनबारे सहमति गर्ने र कार्यसूचीलाई अन्तिम रुप दिने चलन छ। नेकपा विभाजित भए पनि कानुनी रुपमा विवादको टुंगो नलागेकोले संसद सचिवालयलाई पनि बैठक व्यवस्थापन गर्न कठिन भएको छ।
आइतबारको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।


लोकपाटी न्यूज

