सिद्धार्थ इन्भेष्टमेन्टको खुद सम्पति मूल्य बढ्यो

लोकपाटी न्यूज

काठमाडौँँ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुस मसान्तमा १४ रुपैयाँ ९० पैसा कायम भएको छ। न्याभ मंसिरको तुलनामा १ रुपैयाँ २४ पैसाले धेरै हो। मंसिरमा यस फन्डको न्याभ १३ रुपैयाँ ६६ पैसा थियो। यस फन्डले पुस मसान्तसम्म १ अर्ब ३२ करोड ९३ लाख ५७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ। सूचीकृत सेयरमा लगानी रकम पनि बढेको हो।
मंसिरमा १ अर्ब ५ करोड २६ लाख ६९ हजार रुपैयाँ बराबरको मात्र सेयर होल्ड गरेको थियो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले पुससम्म कुल ४६ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ। पुसमा यस फन्डको बैंक मौज्दात घटेर १६ करोड ७२ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ। मंसिरमा भने बैंक मौज्दातमा ४९ करोड ८२ लाख ८८ हजार रुपैयाँ थियो। यस फन्डको मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ छ।
यता, सिद्धार्थ इक्विटी फन्डको न्याभ पनि १ रुपैयाँ ६ पैसाले बढेर पुसमा १४ रुपैयाँ ७४ पैसा पुगेको छ। मंसिरमा यसको न्याभ १३ रुपैयाँ ६८ पैसा मात्र थियो। यस्तै, सूचीकृत सेयरमा लगानी पनि बढेको छ। मंसिरमा १ अर्ब २५ करोड रुपैयाँको सूचीकृत सेयर होल्ड गरेकामा पुसमा १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। कुल ६९ वटा सूचीकृत कम्पनीको २४ लाख २८ हजार ८७५ कित्ता सेयरमा लगानी रहेको छ।

सिद्धार्थ इक्विटी फन्डको बैंक मौज्दात घटेर पुसमा ३२ करोड ९४ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ। मंसिरमा भने ६५ करोड ३२ लाख ४६ हजार रुपैयाँ मौज्दात रहेको थियो। यस फन्डको मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ रहेको छ।