काठमाडौं। नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा पुनर्गठनको ठाउँमा पुगेको बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिस्ट स्कुल लोकार्पण कार्यक्रममा पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुर्याएको बताएका हुन्।
पार्टी एकताका क्रममा भएका कमिकमजोरीहरुलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने उनले बताए। उनले भने, ‘जनताको माग एकता तिर छन्। रोजगारी खोजेको छ। समाजवादी मोडेल खोजेका छन्। तर हामीले जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन सकेका छैनौँ, उनले भने, अहिले हामी पार्टी पुननिर्माणको बिन्दुमा छौं। अब हामी सच्चिनुपर्छ। र समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनु पर्छ।’
नेता पौडेलले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तर हुनु पर्ने बताए। नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उनको भनाई छ। नयाँ पुस्ताले पनि पुरानै पुस्ताको भक्तिगान गाएर नयाँ पुस्तामा नेतृत्व ल्याउन नसकिने पौडेलको भनाइ छ।
‘तीनै नेताहरू पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा, त्यही पुस्ता बहुदलीय व्यवस्थाको लागि सडकमा, अनि पछिल्लो परिवर्तनको नेतृत्व पनि तीनै पुस्ताले छन्,’ उनले भने, ‘त्यसैले अब नयाँ पुस्ताको आवश्यकता छ। कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानै पुस्ताको पछि लागि पनि रहने। सकेनन् भनेर गाली गर्ने प्रवृत्तिले कहीँ पुर्याउदैन।’
लेखक मनहरि तिमिल्सिनाको कम्युनिस्ट स्कुलले अहिलेको नयाँ परिवेशमा नयाँ दृष्टिकोण निर्माण गर्न सहयोग गर्ने नेता पौडेलले बताए। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। यस पुस्तकले कम्युनिस्ट सदस्यहरूलाई निकै ठुलो प्रेरणा दिने उनले बताए। सम्बोधनका क्रममा पौडेलले भनेका छन्ः
सनकको आधारमा संविधानलाई धरापमा पार्नु भयो। हामीले भनेको संविधानको सर्वोच्चता, विधिको शासन, न्याधिस भेटेको, निर्वाचन आयोगमा सचिवहरू तलमाथि भएको कुरा, राज्यका निकायहरूमा जबरजस्ती मान्छेहरू नियुक्ति गर्ने कुरा सुशासनका निम्ति होइन। प्रतिशोध साध्नको निम्ति राज्यका निकायहरूलाई संविधानको स्प्रिट विपरीत दुरुपयोग गरिँदै छ। त्यस कारण कानूनी शासन समाप्त हुँदै छ। संविधानको सर्वोच्चता समाप्त हुनेछ। विधिको शासन समाप्त हुनेछ। हामीले आन्दोलनबाट स्थापित गरेका मूल्यमान्यता माथि धावा बोल्ने र धरापमा पार्ने काम भएको छ। त्यस कारण हामी समालिनु जरुरी छ।
हामीले विचार, दृष्टिकोण, दर्शनमा समालिएर समाजवादी बाटोमा अगाडि बढ्नु पर्ने स्थिति छ। स्थापित पार्टीको मूल्य मान्यतालाई मिच्ने काम भयो। जनवादी केन्द्रीयता विधानमा लेखियो। व्यवहारमा लागू नै हुँदैन। दुई अध्यक्षको सहमतिमा पार्टी एकताको सङ्क्रमणकालीन अवस्था रहँदासम्म भनेको हो। तर मूल सिद्धान्त जनवादी केन्द्रीयता हो। सहमतिको आधारमा, भएन भने बहुमत अल्पमत, अल्पमतको सुरक्षा, बहुमतको निर्णय कार्यान्वयन यसरी कम्युनिस्ट पार्टी आएका हुन्। तर दुर्भाग्य हाम्रो पार्टीको एक भूतपूर्व अध्यक्षको यस्तो प्रणालीको प्रतिबद्धता देखिँदैन। त्यस कारण त्यो उलंघन भयो।



लोकपाटी न्यूज

