धितोपत्र भनेको के हो ?
सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो। सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र ९सेक्युरिटिज० हुन भनी परिभाषित गरेको छ।
नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए। सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो। निजी क्षेत्रबाट वि.सं. २०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो। बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो।
धितोपत्र निष्कासन
संगठित संस्थाहरुले आफ्नो पुँजीको आवश्यकता पूरा गर्न सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री गर्दछन्। यसले लगानीकर्ताहरु लगानीको अवसर प्रदान गर्नुका साथै उनीहरुलाई व्यवसाय सञ्चालनबाट प्राप्त मुनाफामा सहभागी हुन सक्ने अवसर प्राप्त हुन्छ। धितोपत्रको माध्यमबाट लगानीकर्तासँग छरिएर रहेको बचत रकम उद्योगधन्दामा परिचालित भई देशको आर्थिक विकासमा योगदान पुग्दछ।
एकपटकमा पचास जनाभन्दा बढी व्यक्तिहरुलाई विवरणपत्र प्रकाशन गरी साधारण सेयर बिक्री गरिने विधिलाई प्रथम सार्वजनिक निष्कासन (आइपिओ) भन्छन्। यसैगरी अग्राधिकार सेयर तथा ऋणपत्र निष्कासन गर्न सकिन्छ।
साबिकका सेयरधनीहरुलाई लक्षित गरी थप सेयर निष्कासन गर्ने कार्यलाई हकप्रद सेयर निष्कासन भनिन्छ। संगठित संस्थाले आफ्नो मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी साविकका सेयरवालाहरुलाई गरिने थप सेयर निष्कासन बोनस सेयर निष्कासन हो। बढीमा पचास जनासम्म लगानीकर्ताहरुलाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय सञ्चार माध्यमबाट गरिने धितोपत्रको निष्कासन परिपत्र विधि हो। एक पटक आइपिओ गरिसकेका कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न नयाँ निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न सक्छन्।
धितोपत्र बाँडफाँट
सार्वजनिक रुपमा निष्काशित धितोपत्रहरु धितोपत्र खरिदका लागि परेको दरखास्तको संख्या अनुसार धितोपत्र विक्री बन्द भएको ३० दिन देखि ५० दिनभित्र धितोपत्रहरु बाँडफाँट गरिन्छ। बाँडफाँट कार्य पश्चात बैंकमा रोक्का रहेको रकम मध्य धितोपत्र प्राप्त गर्ने आवेदकको रकम कट्टागरी धितोपत्र नपरेका तथा माग गरे भन्दा कम धितोपत्र प्राप्त गरेका आवेदकको रकम फुकुवा गरिन्छ। धितोपत्रहरु सूचीकरणका लागि बाँडफाँट भएको ३० दिनभित्र स्टक एक्सचेञ्जमा निवेदन दिइसक्नुपर्ने व्यवस्था छ। यसरी सूचीकरण भएपछि लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रहरु धितोपत्र दलाल व्यवसायीमार्फत स्टक एक्सचेञ्जमा बिक्री गर्न सक्दछन्।
धितोपत्र खरिदमा ध्यान दिनुपर्ने कुराहरु
धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ।
दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ। धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरुद्वारा समयसमयमा प्रवाह गरिने सूचना। स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचनासमेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ। लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ। स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ। स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलालमार्फत हुन्छन्। धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ।
नेपाल धितोपत्र बोर्ड
राष्ट्रिय वचत तथा लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी ल्याउने गरी पुँजी बजारलाई सक्षम, गतिशील र विकसित बनाउने लक्ष्यका साथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल सरकारबाट वि.सं. २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो। यसका मुख्य उद्देश्य भनेको पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गरी धितोपत्रको निष्काशन, खरिद, बिक्री वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्ति हरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने रहेको छ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड, शाख मूल्यांकन संस्था, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, निष्काशनकर्ता कम्पनी, सूचिकृत कम्पनी, सामुहीक लगानी कोष, निक्षेप सदस्य र आस्वा प्रणलीमा आवद्ध संस्थाहरुको नियमन गर्दछ।



लोकपाटी न्यूज