काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको समेत सहभागिता थियो।
नेपाल मामिलाका विज्ञसमेत रहेका रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत-नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताएका छन्। ‘भारतको नेपालसँगको सम्बन्ध केवल सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ,’ सिंहले ट्विटरमा लेखेका छन्।
भारतीय रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए। त्यसपछि नै नेपाल-भारत सम्बन्धमा तिक्तता देखिएको थियो। त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो।
साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो। नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको थियो। नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ।
सडक उद्घाटन गरेको केही समयपछि रक्षामन्त्री सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका थिए। साथै उनले वार्ताबाटै नेपाल-भारतबीच देखिएका सीमा विवाद हल गर्ने प्रतिबद्धता पनि दोहोर्याएका थिए।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ। मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ। शनिबार बिहान ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए।
त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए। त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको थियो। बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए।



लोकपाटी न्यूज

