काठमाडौं। पार्टी विभाजनपछि एकता अभियानमा सक्रिय रहेका नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतमले देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएकोबताए।
उनले भने, ‘सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणा अनुसारको व्यवहारमा देखिएको छैन। भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानून, नियमावली बनेको भए पनि लागू हुन सकेका छैनन्। भ्रष्टाचार व्याप्त छ।’ गौतमले प्रकृतिमा रहेका सबै प्राणीको अन्तर्निहित सम्बन्ध नबिगारी विकास गर्नुपर्ने धारणा राखे। त्यसो नगरिए वातावरणमा प्रतिकुल असर परी मानिसको आयु घट्दै जाने भनाइ छ।
उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको बताए। उक्त विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने प्रतिबद्धतासमेत व्यक्त गरे। एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
बैठकमा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारले सन् २०२२ सम्ममा देशलाई विकासशिल देशको सूचीमा राख्ने भनिएकोमा त्यसो गरिए राष्ट्रिय गौरवका आयोजना तथा विदेशबाट आउने सहायता बन्द हुने चेतावनी दिए। कुन आधारमा सन् २०२२ सम्म नेपाल विकासशिल देश बन्ने हो भन्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको सुझाव छ।



लोकपाटी न्यूज

