काठमाडौं। नेकपाका नेता स्वनाम साथी (शशि शेरचन)को स्मृतिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने भएको हो।
मंगलबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा नेता स्वनाम साथी (शशि शेरचन)को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने नेकपाले जनाएको छ। नेकपाका नेता स्वनाम साथी (शशि शेरचन) को ७० वर्षको उमेरमा पुस १० गते निधन भएको थियो।

उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको थियो। गत असोज २८ मा कोरोना भाइरसको संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो। उनले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएका थिए। म्याग्दीको अर्मनमा जन्मिएका स्वनाम लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा थिए।
आफूलाई ‘कम्युनिस्ट अभ्यासी’ भनेर चिनाउने उनले हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उक्त महाधिवेशनमा विधान मस्यौदा समिति संयोजक थिए। तत्कालीन नेकपा (एकता केन्द्र मसाल), माओवादी केन्द्र हुँदै राजनीतिमा रहेका स्वनाम एकतापछिको नेकपामा भने कुनै भूमिकामा थिएनन्। सकारात्मक सोचका धनी उनी जीवनलाई ऊर्जावान र सकारात्मक ढंगले अघि बढाउने धारणा राख्थे।
म्याग्दीको अर्मनमा २००७ सालको क्रान्तिकै बेला जन्मेका स्वनाम हुने खाने परिवारका थिए। त्यसैले उनलाई वसन्त गौचन (९० वर्ष) ले पढाउन भनेर दार्जिलिङ लैजान खोजेका थिए। गोरखपुरको गर्मी खप्न नसकेर उनी सात वर्षको उमेरमा काठमाडौं आए, बीएस्सीसम्मको अध्ययन गरे। राजनीति भने स्वनामले २०२२ सालदेखि सुरु गरे। त्यसपछि स्वअध्ययनमा लागे।
स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग विवाह गरेका थिए। माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतको उपस्थितिमा उनले विवाह गरेका थिए। स्वनामको अन्त्येष्टि शनिबार गरिने भएको छ।



लोकपाटी न्यूज
