‘बादल लालगद्दार, असंवैधानिक कूका मतियार’

Ram-bdr-thapa-badal
लोकपाटी न्यूज

चितवन। गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई चितवनमा कालो झन्डा देखाइएको छ। ‘बादल लालगद्दार, असंवैधानिक कूका मतियार’ लेखेर बेलुन समेत उडाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहनगर भरतपुर आएका थापालाई नेकपाका कार्यकर्ताले भरतपुरको हाकिम चोकमा कालो झन्डा देखाएका हुन्।

उनीहरूले भरतपुर विमानस्थल परिसरमा कालो बेलुनमा ‘बादल लाल गद्दार असंवैधानिक कु का मतियार’ लेखेको ब्यानर सहितको बेलुन उडाएर थापाको विरोध गरेका थिए।

कुनै बेला मार्क्सवाद, लेनिनवाद, माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा व्याख्या गर्ने गृहमन्त्री थापा यति बेला ओली समूहले देशव्यापी रूपमा सञ्चालन गर्ने आन्तरिक प्रशिक्षणमा मुख्य वक्ताको रूपमा खटिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनीमाथि संविधानमाथिको ‘कु’ गरेको आरोप छ।

गत पुस ५ गते संसद विघटन गरेसँगै नेकपा औपचारिक रूपमा विभाजित भएपछि थापा ओली समूहतिर लागेका छन्। प्रचण्ड-नेपाल पक्षमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी खोजेका थापालाई ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा माथिल्लो वरियतामा राखेपछि ओली समूहमा खुलेका हुन्।

थापा अहिले आफू निकट नेताहरूको साथ र सुझावलाई लत्याएर संसद् विघटन र प्रतिगमनको कित्तामा उभिएका छन्। उनको उक्त निर्णय क्रान्तिमाथिको धोका भएको गम्भीर आरोप उनका सहयोद्धाहरूले लगाएका छन्। सोही क्रममा आज चितवनमा उनीविरुद्ध कार्यकर्ताहरूले बादल लालगद्दार, असंवैधानिक कूका मतियार’ भएको आरोप लगाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्