अस्मिना पाण्डे/ बुटवल, २० पुस। रोटरी क्लब अफ तिनाउ बुटवलले आफ्नो पाचौं स्थापना दिवस आइतबार मनाएको छ। रुपन्देहीको तिलोत्तमा ३ मा रहेको सगरमाथा आधारभूत प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।
क्लबले स्थापना दिवस पारेर विद्यालयलाई प्रबिधियुक्त पानी ट्याङ्की प्रदान गरेको छ। प्रबिधियुक्त पानी ट्याङ्की खुट्टाले थिचेर उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल भुटान ३२९२जोन १९ का असिस्टेन्ट गभर्नर खुमानन्द भुसालले रोटरी क्लब अफ तिनाउ बुटवलले स्थापना दिवसमा सामाजिक र सह्र्रानिय काम गरेको बताए।
यस्ता चिजको मूल्य भन्दा पनि महत्त्वलाई बुझेर सदुपयोग गर्न विद्यालयलाई आग्रह गरे। भुसालले सहयोगका लागि लाग्ने खर्च कुनै डोनरबाट आएको रकम नभएर महिला दिदिबहिनीले आफ्नो दैनिक खर्च कटाएर भोलिका देशका कर्णधारप्रति देखाएको सद्भावको खुलेर प्रसंशा गरे। कार्यक्रममा क्लबका जि एस आर एजाज आलमले आज भन्दा ५ वर्ष अगाडि महिलाहरु मात्रै आवद्ध क्लब गठन गर्दा धेरै मानिसहरु नपत्याएको स्मरण गरे। विभिन्न चुनौतीका बिचमा पनि क्लबले गर्ने हरेक कार्यक्रमले समाज परिवर्तनमा सहयोग पुग्ने गरेको बताए।

अन्य रोटरी क्लबहरुमा महिलाहरुलाई जिम्मेवारी दिन खोज्दा जिम्मेवार लिन स्वीकार नगरेकै कारण महिलाहरुलाई मात्रै आवद्ध गराउन सके सामाजिक क्षेत्रमा महिलाहरुको नेतृत्व बढ्दै जाने विश्वासका साथ क्लब गठन गर्ने अवधारणा ल्याएको बताए।
तिनाउले गरेका गतिविधिले सामाजिक भावना अझै जागृत हुँदै जाने विश्वास व्यक्त गरे। क्लबका अध्यक्ष रो. ज्ञानधरा पन्थले सामाजिक सेवा भावले रोटरीको अभियानमा लागेको भन्दै महङ्गो होटलमा गएर फजुल खर्च गर्नुभन्दा समाजमा सकारात्मक सन्देश जाने खालको कार्यक्रम गरिएको बताइन्। क्लबले निरन्तर सहयोग गर्दै आएको विद्यालयमा कोभिड-१९ को संक्रमणपछि बालबालिकालाई हात धुन प्रबिधियुक्त पानी ट्याङकी आवश्यक परेकोजानकारी गराएपछि स्थापना दिवसमा ट्याङ्की प्रदान गरिएको बताइन्।
विद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले रोटरी क्लब अफ तिनाउले सगरमाथा आधारभुत विद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गरे। रोटरी क्लब अफ सेन्ट्रलका सचिव गङगा ढकालले सामाजिक सेवानै जिवनको सबैभन्दा महत्वपूर्ण पाटो रहेको भन्दै सामाजिक काममा सक्रिय हुनु सकारात्मक पक्ष रहेको औल्याए।
रोटरी क्लब अफ तिनाउ बुटवलका प्रथम पुरुष गगन पन्थ , रोट्र्याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष इन्दु पौडेल, पूर्व अध्यक्ष जमुना पौडेल, लगायतको उपस्थिति रहेको कार्यक्रममा संयोजक क्लबका प्रथम उपाध्यक्ष कल्पना तिवारी , इमिडियट प्रेसिडेन्ट प्रतिमा भट्टराई, सचिव रमिला शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए।



लोकपाटी न्यूज
