विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ। आइतबार बसेको प्रदेश १ को नेकपा संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो।
राजभण्डारी ओली समूहका नेता हुन्। यसअघि प्रचण्ड-माधव पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ। ४० जना प्रदेशसभा सदस्यको उपस्थितमा बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताए।
‘प्रमुख सचेतकलाई हटाएर सबै जिम्मेवारी सचेतकलाई दिने निर्णय भएको छ,’ उनले भने, ‘संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेका छौं।’ यसअघि राजभण्डारी र इन्द्रमणी पराजुली समितिमा प्रतिनिधित्व गर्थे। आइतबारको बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्नका लागि प्रदेश सांसद लिलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई तोकेको छ।



लोकपाटी न्यूज

