काठमाडौं। शिक्षा पत्रकार प्रकाश सिलवाल सूचक प्रकाशनको सूचक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। राष्ट्रिय समाचार समितिमा कार्यरत सिलवालसहित सूचक प्रकाशनले साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा कार्यरत ६ जनालाई ‘सूचक सम्मान’ प्रदान गरेको हो।
कार्यक्रममा सुगत बौद्ध महाविद्यालयका प्रमुख तीर्थरत्न शाक्यलाई ‘सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार’, साहित्यकार नविना श्रेष्ठलाई ‘सूचक पद्मादेवी साहित्य पुरस्कार’, धातुपत्र कलाकार एकराज शाक्यलाई ‘सूचक कुवेरसिंह थ्वज्या माज्या कला पुरस्कार’, अधिकारवादी सीमा खानलाई ‘सूचक लिली प्रतिभा पुरस्कार’, साहित्यकार एवं उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलाई ‘सूचक रतन युवा साहित्य पुरस्कार’, प्रदान गरिएको हो।
सम्मान प्रदानपछि इतिहासविद् प्राज्ञ प्रा दिनेशराज पन्तले समाजमा असल काम गर्नेहरुलाई प्रोत्साहन र सम्मानको परम्परालाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो डा. सोनम ग्यूर्मे तामाङ, पत्रकार कुमार रञ्जित, ‘सम्यक सन्देश’ द्वैमासिकका पत्रिकाका सल्लाहकार डा. लक्ष्मण शाक्यले सो प्रकाशन र पुरस्कार शृङ्खलाको निरन्तरताका लागि शुभेच्छा व्यक्त गरेका थिए।
प्रकाशनका अध्यक्ष दीपक भेटवालका अनुसार उक्त सम्मान विगत १५ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको छ। कार्यक्रममा विभिन्न स्रष्टाका रचना वाचनसमेत गरिएको थियो।



लोकपाटी न्यूज

