आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

pic 1
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो। काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन्। गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनको भनाई छ।

युवाहरू विदेशतर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै यस कार्यक्रमले आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन्।

दिन भर लाएर गोरुको सहायतामा खेतवारी जोत्न परेको कुरा सुनाउँदै अबका दिनमा भने एक दुई घण्टामा आफ्नो खेत बारी जोत्न सकिने बताउँदै गाउँ पालिकाले किसानको हितमा काम गरेको कृषक तोयानाथ पौडेलले बताए।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आ।व २०७७ ७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे। कार्यक्रम कृषि प्राविधिक अर्जुन चापागाँईको सञ्चालनमा सम्पन्न भएको हो।

प्रति ट्याक्टर कुल ५५ हजार मध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन्। किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिका ले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्