– कविता खत्री
महिनावारी महिलाको नियमित प्रक्रिया हो। गर्भ नरहेको अवस्थामा पाठेघरको भित्री भागमा सिञ्चित भएको रगत निष्कासन प्रक्रिया नै महिनावारी हो। यो मासिक प्रक्रिया हो यो एउटा सन्तान उत्पादन गर्नका लागि परिपक्व अवस्था पनि हो। अनि यो प्राकृतिक कुरा पनि तर महिनावारीको नाममा महिलाहरुमाथि भइरहेको विभेद, असमानता तथा छुवाछुत हरेक समाज र समुदायमा छ।
समाजमा महिनावारीको बेला महिलामाथि विभेद गर्ने एकखालको सस्ंकार नै बन्दै आएको छ। विषय हेर्दा सानो र सामान्यजस्तो लाग्छ। तर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने यो विषय संवेदनशील र महिलामाथि हुने विभेदको प्रमुख विषय बनेको छ। यो थोरै बोलिने र कम चर्चामा आउने विषय हो। तर यही विषयले महिलामाथि हिसां हुने गरेको छ, विभेद भएको छ र कतिपय अवस्थामा महिलाको मृत्युको कारण बन्न पुगेको छ।
महिनावारीको विषयमा सबै कुरा बुझेको हामी शिक्षित महिला नै महिनावारीको समयमा कुनै मन्दिर जान, पूजा गर्न वा भगवानलाई ढोग्न हिच्किचाउँछौं। किनभने हामीभित्र डर छ। हामीलाई पाप लाग्छ भन्ने डर। तर हामीलाई थाहा छैन त्यो पाप के हो, किन र कसरी लाग्छ ? यी प्रश्नहरुको जवाफ न हामीसँग छ, न हामीलाई पापको डर देखाउनेहरुसँग नै।
मलाई याद छ, मेरो पहिलो महिनावारी। पहिलो महिनावारी भएको वर्ष ऋषि पञ्चमीको दिन नुहाएर पूजा लगाउनैपर्छ भन्ने परम्परा अझै पनि छ मेरो जन्मथलोमा। र म जस्तै अरु दिदीबहिनीहरु पनि खुशी खुशी रमाइलो मानेर मान्छौं यो परम्परा। त्यस्तैमा मेरो पहिलो महिनावारी भएको वर्ष ऋषि पञ्चमीको दिन सामूहिक रुपमा गर्न लागिएको सप्तऋषिको पूजामा म पनि सामेल थिएँ। लगभग ३/४ घण्टाको पूजाको अवधिमा पण्डित बाजेले ऋषिपञ्चमीको महिमा सुनाइरहनुभयो। मेरो पहिलो पूजा थियो, म मज्जाले ध्यान दिएर सुनिरहेकी थिएँ।
“भगवान् इन्द्रले आफूलाई लागेको ब्रह्महत्याको पाप महिलाको महिनावारीमा राखिदिएकाले हरेक महिना महिलाहरुमा महिनावारी भएको हो। महिलामा रजश्वला हुदाँको पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी र तेस्रो दिन धोविनी समान हुन्छन्। रजश्वला नबारे महिलाले बाँझी हुनुपर्छ, अर्को जन्ममा कुकुर्नी भएर जन्मनुपर्छ, कुष्ठरोग लाग्छ। त्यो समयमा झुक्किएर कतै छोइएको पाप कटाउनका लागि ऋषि पञ्चमीको पूजा गर्नैपर्छ।” यति सुनेपछि मलाई मैले पाप गरेको थिएँ वा थिइनँ। तर मेरो पाप मोक्ष भयो भनेर खुसी भएँ।
मैले मेरो दिमागले ठम्याएदेखि देखेको कुरा नै ठिक मान्दै आएँ। पहिलो महिनावारीमा दाजुभाइ र बुबाको मुख हेरिनँ। आफ्नो घरमा बसिनँ र भान्छा, पूजापाठको काम केही गरिनँ। किनकि मलाई त्यसो गर्न हुँदैन भन्ने सस्ंकाररुपी पाठ पढाइएको थियो। त्यसो गरे पाप लाग्छ भनेर सिकाइयो। मेरो समाज र परिवारले त्यो परम्परा पछ्याएको कारण मैले पनि परिवारको इज्जत जोगाउनका निम्ति सबै गर्दै आए।
हामी जति पनि महिला दिदीबहिनी छौँ, सबै जनालाई एउटा प्रश्न, महिनावारी हुँदा हामी आफू सुत्ने कोठा, भान्छा वा मन्दिरभित्र छिर्छौं त ? या महिनावारी हुँदा कुनै चाडपर्व मनाएका छौँ ? यी मध्ये कुनै पनि एउटा हामीले बार्दै आएका छौँ भने छाउपडी प्रथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र नभएर हाम्रै आफ्नो घरदैलोमा छ। फरक यति हो उनीहरुका लागि छुट्टै छाउगोठको स्थापना गरियो र हामी पढेलेखेका शिक्षित भनाउँदाहरु ठूलाठूला छाउ विल्डिङ् वा घरमा सीमित भयौं।
१२/१३ वर्षको उमेरदेखि मजस्तै सबै दिदीबहिनी रजश्वला हुनुभयो र आफ्नो दाजुभाइ कसैले यानकी केटामान्छेको अनुहार हेर्नु हुँदैन भनेर आफ्नो घरदेखि टाढा गएर बस्नुभयो होला ? त्यो बेलाको कुरा सम्झिन चाहन्छु, जुन दिन मैले आफू रजश्वला भएछु भन्ने थाहा पाएर पहिलोपटक हजुरआमालाई सुनाएँ, उहाँले तुुरुन्तै ‘फुपु दिदीको घर जाँ’ भन्नुभयो। अनि मलाई फर्केर ‘घरतिर नहेर्नू, घरको धुरी हेर्नु हुँदैन, नहेर’ भन्नुभएको थियो। उहाँको अगाडि हुन्छ त भनें। तर मैले त्यो दिन ५०० पटक भन्दा कम चाहीँ पक्कै फर्केर हेरिनँ होला। खुल्दुली भइबस्यो मनमा के चाहीँ हुन्छ होला त त्यो घरको धुरी कस्तो हुन्छ होला भन्ने मनमा लागेको छट्पटीकै कारण बाटोमा त्यसरी फर्केर हेरे यतिमात्रै होइन, दिदीको घरबाट पनि नहेर्नु भन्नुभएको थियो। तर मैले कति हेरें हेरें भनेर नसक्नुछ।
हो, म हुर्किएको समाजमा मलाई सिकाइएको पाठ त्यस्तो थियो। त्यहाँको परम्परा नै त्यस्तै थियो। अधिकांश महिला दिदीबहिनीहरु पनि मजस्तै महिनावारी बार्ने प्रचलनदेखि अछुत भने हुनुभएन होला ? पहिलो महिनावारी हुँदाका बेला मलाई घरबाटै पाखा लगाइएकोजस्तो महसुस गरें। यदि म पनि त छोरो भएर जन्मिएको भए कम्तिमा यो सजाय भोग्नु त पर्ने थिएन जस्तो लाग्यो। छोरी मान्छेलाई साच्चिकै यिनीहरु पराइ नै हुन् भनेर महिनावारी भएदेखि नै समाजबाटै यसरी बहिष्कार गरिएको पो हो कि भनेजस्तो सोचें।
हरेक समाजको फरक सस्ंकृति हुन्छ। तिनै सस्ंकृतिका कारण व्यक्तिलाई समाजमा सम्मान दिएको हुन्छ। हरेक व्यक्ति आफ्नो समाजमा सम्मानका साथ बाच्न चाहन्छ। सुदुर र कर्णाली अञ्चलका केही जिल्लाहरुमा व्याप्त छाउपडी प्रथा पनि त्यस्तै एउटा परम्परा हो। त्यहाँको सस्ंकृतिको सम्मान गर्नु, त्यो समाजमा उनीहरुले सम्मान पाउनु हो। समाजका अग्रज र जान्ने बुझ्ने भनौंदाबाटै सस्ंकार र परम्पराको नाममा महिलाहरुलाई बाध्य पारिँदैछ कि महिनावारी हुँदा घरभित्र पसे अनिष्ट हुन्छ, देउता रिसाउँछन् भन्ने गलत भ्रममा पारेर छाउगोठ वा पराइको घरतिर धकेलिइन्। हाम्रा अघिल्लो पुस्ता नै त्यही परम्पराबाट गुज्रिरहेका थिए र हाम्रो कलिलो मस्तिष्कमा नै अब हामी पनि त्यस्तै गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्दै गयौं।
सामान्य शारीरिक प्रक्रियालाई धर्म र देउतासँग जोडेर डरलाग्दो अपराधको रुपमा परिभाषित गरिदिँदा महिलाहरु महिनावारीको समयमा कष्टकर जीवन बिताउन बाध्य छन्। सरकारले छाउपडी वा महिनावारीविरुद्ध ऐन नियम पनि बनाएको छ। नेपालको कानूनमा रजश्वला बार्ने र बार्न लगाउने दुवै अपराध हो भनिएको छ। कतिलाई यसविरुद्ध कानुन छ भन्ने थाहा छैन र थाहा भएका पनि उजुरी गर्न चाहँदैनन्। कुनै महिला आफू महिनावारी बार्न चाहँदिनन् भने पनि उनी आफूलाई बार्न बाध्य बनाउने विरुद्ध कुनै कदम उठाउन सक्दिनन्, किनकि उनलाई त्यसो गर्न लगाउने आफ्नै परिवार र समाज हुन्छ।
महिनावारी विषयमा आवश्यक शिक्षा र ज्ञान दिन सके, महिनावारी के हो ? कसरी हुन्छ ? सरसफाइ कसरी गर्ने ? स्वस्थ कसरी रहने ? महिनावारी कुनै देवताको श्रापले होइन, यसमा पाप र धर्मको कुरै आउँदैन, यो त शारीरिक प्रक्रिया मात्रै हो भन्नेजस्ता कुरा सरल तरिकाले बुझाउन सके चाहिँ हामीले सोचेजस्तो परिवर्तन आउने थियो कि ? महिनावारीलाई नछुने भएको संज्ञा दिएर बार्ने परम्परा हाम्रो देशको गाउँ, शहर, शिक्षित, अशिक्षित सबैमा व्याप्त छ। महिनावारी, नछुने, पर सर्नु, रजश्वला जस्ता नाम दिएर फरक फरक मान्यतासहित महिनावारी बार्ने चलन छ।
म घरदेखि बाहिर हुँदा आफै खाना बनाउँछु, आफ्ना सबै काम म आफै गर्छु, महिनावारी हुँदा पनि। तर महिनावारीको समयमा घर हुँदा भने म भान्छाको काम गर्दिनँ। किनकि मैले बारिदिँदा हजुरआमा, आमा सबै खुसी हुनुहुन्छ। आफैँ हिच्किचाएर पूजापाठबाहेक अरु कुरामा नछुने बार्दिनँ। म मेरा भावी पुस्तामा ममाथि थुपरिएको जस्तो डर थुपार्ने छैन। अनि बिस्तारै कसो नहोला त परिवर्तन ?



लोकपाटी न्यूज

