केपी ओली कम्युनिष्टभित्र लुकेका गोमन सर्प रहेछन्ः जनार्दन शर्मा

Janardan sharma
लोकपाटी न्यूज

विराटनगर। नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता शर्मा ओली कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएको बताए। ओलीले असंवैधानिक ढंगले संसद विघटन गरी लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्न खोजेको उनको आरोप छ।

‘प्रधानमन्त्रीज्यूको असंवैधानिक संसद् विघटनले ७२ वर्षको लामो कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएकोले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेका तर संसद् विघटनले कम्युनिष्ट आन्दोलन नभई ओली समाप्त भएका छन्।’

नेता शर्माले पार्टी, राज्य र कार्यकर्तालाई छल्दै प्रधानमन्त्री ओलीले देशलाई दुरगामी असर पर्ने निर्णयमा पुग्नु ‘राजनीति सकुनी’को व्यवहार भएको बताए। ‘ओलीको छल्ने राजनीतिक व्यवहारले देश र नागरिकले दुःख पाउने अवस्थामा पुर्‍याए,’ उनले भने ‘पार्टी, संविधान र व्यवस्था नै नमान्ने ठाउँमा अहिले प्रधानमन्त्री उभिएका छन्।’

पार्टी र बैठकको निर्णय नमानि विदेशी शक्तिको इसारामा चल्लेकाले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन सम्मको अवस्थामा पुगेको नेता शर्माको आरोप छ। ‘कतिपय पार्टीको केन्द्रिय समितिले ओली पक्षमानै गरेको निर्णय समेत उनले मानेनन्, हामीले सक्ने जति त्याग गर्दा उनि तानाशाहको पथमा हिडे,’ शर्माले भने ‘यो सबै चलखेल विदेशी शक्तिकै हो यसमा दुईमत छैन।’

समाजबाद उन्मुख मुलुक निर्माण गर्ने लक्षका साथ राजनीतिक स्थिायित्व कायम गरि समृद्धिको दिशामा अघि बढ्ने लक्षका साथ पार्टी एकता गरीए पनि त्यो लक्षलाई प्रधानमन्त्री ओली आफैले भंग गरिदिएको नेता शर्माले दाबी गरे। उनले भने ‘हामीले जुन लक्षका साथ पार्टी एकता गरेका थियौँ, त्यो लक्ष पुरा नहुँदै ओलीको कदमले एक हुने अवस्था भएन, यसमा हामीले जनतासँग माफि माग्नैपर्छ।’

नेकपाको ३ सय ४५ केन्द्रीय सदस्यमध्ये ३ सय १ जना हस्ताक्षर गरेर नेकपाको आधिकारिकता र सूर्य चिन्ह प्राप्त भइसकेकाले अरु कसैसँग मागेर लिने कुरा नभएको शर्माले बताए। मुलुकमा राजनीतिक स्थिरता कायम गर्न दुई तिहाइको समर्थन दिएका जनता अहिले रिसाइरहेकाले घर घरमा गएर माफी माग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।