वीरगञ्ज। संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भएको छ। केन्द्रसहित प्रदेश एवं जिल्ला समेत विभाजित हुन पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल समूह विभाजित भए पछि दुबै समूहले प्रादेशिक भेला सम्पन्न गरीसकेको छ ।
ओली समूहले बुधबार वीरगञ्जमा र प्रचण्ड-नेपाल समूहले बिहीबार जनकपुरधाममा प्रादेशिक भेला गरेको छ। प्रदेशमा ओली समूहको नेतृत्व स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज सत्य नारायण मण्डल, प्रदेश अध्यक्ष प्रभु साह, सचिव सुबोध फ्याकुरेल, रघुवीर महासेठ लगायतले गरीरहेका छन्।
अर्को तिर प्रचण्ड-माधव समूहको नेतृत्व स्थायी कमिटी सदस्यहरु गिरीराजमणी पोखरेल, मातृका यादव, रामचन्द्र झा पुर्वमन्त्री महेन्द्र पासवान प्रदेश सह इन्जार्ज नागेन्द्र चौधरी लगायतले गरीरहेका छन्। प्रादेशिक भेलापछि जिल्ला भेला दुबै समूहले सुरु गरी सकेका छन्। प्रचण्ड- माधव समूहले प्रदेश स्तरमा र जिल्ला स्तरमा आन्दोलन झन सशक्त बनाउन आन्दोलन परिचालन समितिको समेत निर्माण गरी आन्दोलित भएका छन्। यता ओली समूह प्रतिनिधि सभा विघटन र सरकारलाई काम गर्न नदिएको भन्दै चुनावको तयारी गर्न रणनिती बनाइ संगठन बिस्तार गरी जनता माझ पुग्ने तयारी गरेको छ।
प्रदेश २ मा नेकपा तर्फबाट प्रदेशसभा सदस्य ३२ जना मध्ये २० जना, नेकपाका ४ जना स्थायी समिति सदस्य मध्ये ३ र ६८ जना केन्द्रीयसदस्य मध्ये ४५ जना प्रचण्ड–नेपाल समूह पक्षमा देखिएका छन्। प्रदेश इन्जार्ज सत्य नारायण मण्डल र प्रदेश अध्यक्ष प्रभु साह ओली समूहमा छन्।
प्रदेश नं २ का आठ जिल्ला मध्ये ६ जिल्लाको अध्यक्ष प्रचण्ड-नेपाल समूहमा एवं २ जिल्ला का अध्यक्ष ओली समूहमा छन्। यसै गरी महोत्तरी बाहेक ७ जिल्लाका सचिव प्रचण्ड माधव समूह तिर रहेका छन्। अध्यक्ष र सचिव गरी १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन्। यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ।
सप्तरीको अध्यक्ष अशोक मण्डल, सिरहा कोअध्यक्ष राज कुमार यादव, महोत्तरीको अध्यक्ष राजु खडका, सर्लाहीको अध्यक्ष रेवती पन्त, रौतहट को अध्यक्ष कमल राय र बाराको अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिल प्रचण्ड र माधव नेपाल समूह मा छन्। यसै गरी धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव र पर्साका अध्यक्ष प्रभु हजारा मात्रै ओली समूहमा छन्।



लोकपाटी न्यूज

