ओलीकाे दावी : बिघटित संसद ब्यूँतिन सक्दैन

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं, ६ पुष, प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको भन्दै चुनावको तयारीमा जुट्न निकटस्थ नेताहरूलाई निर्देशन दिएका छन् ।

उनले प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभई बाध्यता भएको बताए । ओलीले पूर्व एमालेहरू फेरि एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षधर सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले चुनावको तयारीमा जुट्न आग्रह गरेका हुन् ।

सोमबार ओलीले आफूलाई पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताए । ओलीले सांसदहरुलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरे ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको बताए । अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।

भेलालाई पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए । सहमतिका लागि गरिएका प्रयास असफल भएपछि प्रतिनिधिसभा विघटनको बाध्यात्मक अवस्थामा जानु परेको उनले बताए ।

भेलामा पूर्व माओवादी पृष्ठभूमिका नेता लेखराज भट्ट पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्