सामाजिक संस्थाद्वारा मल्म पाण्डवखानी सडकको विषयमा ध्यानकर्षण

piv
लोकपाटी न्यूज

बाग्लुङ। गलकोट नगरपालिका वडा नं ७ स्थित सामाजिक संस्थाहरुको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडाको मुख्य सडकको स्तरोन्नति नहुँदा यात्रुहरुलाई समस्या भएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको हो।

२०६१- ०६२ सालमा ट्रयाक खोलेको उक्त सडकको स्तरउन्नती हुन नसक्दा दैनिक सयौं गाडीहरुले सास्ती खेप्दै आईरहेका छन्। नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा रु ६० लाख बजेट विनियोजन गरी मध्यपहाडी लोकमार्गको जिरो किमी आँगाखेत देखि ओदाह सम्म ग्रावेल भएको छ।

त्यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड र २०७७र०७८ मा रु ५० लाख विनियोजन गरी अहिले छरछरे सम्म ग्रावेलको काम भइरहेको छ। गलकोट नगरकै महत्वपूर्ण सडकको रूपमा रहेको यस सडकको सानोखोला देखि दाग्दिखोला सम्मको झण्डै १५ किलोमीटर सडक साघुँरो, खाल्डा खुल्डि सँगै स्तरोन्नती नभएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर बहादुर थापा विष्णुले जानकारी दिए। वडा स्थित सामाजिक संस्थाहरु घुम्टे युवा परिवार, न्यू नवज्योति युवा क्लव, जनहित कला केन्द्र, नाच्ने डाँडा संरक्षण समाज, समृद्धि युवा क्लव, राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र र झीर्का युवा क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको न्यू नवज्योति युवा क्लवका कोषाध्यक्ष टेकनाथ गौतमले बताए।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मल्म पाण्डवखानी सडकको विषयमा गलकोट नगरपालिकाले आगामी वैशाख भित्र सडकको मर्मत तथा सम्भार गर्न प्रतिवद्धता व्यक्त गरे। उनले सडकको स्तरोन्नति गर्नको निम्ति सम्बन्धित निकायमा आवश्यक पहल गर्ने समेत बताए।

यो गलकोट नगरकै महत्वपूर्ण सडक रहेको हुँदा पर्यटकीय गन्तव्य घुम्टे, राम्चे ढुङ्गा, पाण्डवखानीमा रहेका पर्यटकीय तथा धार्मिक महत्व बोकेका गन्तव्यमा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने भन्दै जति सक्दो छिटो सडक स्तर उन्नती गर्न आफूहरु सकारात्मक रहेको उल्लेख गरे।

सो अवसरमा सम्पुर्ण संस्थाहरुको प्रतिनिधित्व गर्दै घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा सडकको विषयमा अन्तरक्रिया समेत गरिएको थियो। अन्तरक्रियामा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, लोकदोहोरी गायक विष्णु खत्रीले मन्तव्य राखेका थिए। कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्