काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गर्दै प्रतिनिधि सभा बिघटनको सिफारिस गरेपछि आक्रोशित भएका नेकपाका सात जना मन्त्रीहरुले राजीनामा दिएका छन्। उनीहरुले आइतबार दिउँसो सामूहिक राजीनामा दिएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री बिना मगर, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामूहिक राजीनामा दिएका हुन्।
सिंहदरबारमा मन्त्रीहरुले प्रधानमन्त्रीको कदम र प्रतिनिधि सभा बिघटनको निर्णय सम्बन्धमा आफ्नो धारणा राखेका थिए। उनीहरुले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै सरकारमा बसिरहनुको औचित्य नभएको बताएका छन्।
प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भनिए पनि पूर्वमाओवादी पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्। पछिल्लो समय उद्योगमन्त्री भट्ट ओलीतिर ढल्किएका छन् भने गृहमन्त्री थापा मझधारमा देखिएका छन्।




लोकपाटी न्यूज

