फेरि शीतलनिवास पुगे प्रधानमन्त्री ओली

KP_Bidhya_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानैबाट सक्रियता बढाएका छन्। शनिबार बिहान खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका प्रधानमन्त्री ओली बेलुका शीतलनिवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले शीतल निवासमा भेटवार्ता जारी छ। उनीहरूबीच पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भइरहेको बुझिएको छ। नेकपाभित्र संकट गहिरिँदै गएपछि ओलीले आफूनिकट नेताहरूसँग पनि परामर्श गरिरहेका छन्।

ओलीले अध्यादेश फिर्ता लिने सहमति पालना गर्न आनाकानी गरेपछि प्रचण्ड-नेपाल समूह ओली विरुद्ध कडा कदम चाल्ने तयारीमा छ। त्यसैको चाल पाएका ओलीले प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए। खुमलटारमा ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै प्रचण्डले प्रस्तुत गरेको ‘आरोप पत्र’ फिर्ता लिन अनुरोध गरेका थिए। तर प्रचण्डले आरोप पत्र फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेका छन्।

त्यसपछि ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्‍न पुल्‍चोक गएका थिए। त्यस्तै उनले भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि भेटिसकेका छन्। नेकपाभित्र विवाद बढ्‍दै गएपछि प्रधानमन्त्री बने यता ओली पहिलो पटक दाहाललाई भेट्‍न खुमलटार गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्