मेरो कार्यकालमा पुस्तौंपुस्ता र विश्वले देख्ने गरी काम भएका छन् : मन्त्री अर्याल

Padma_Aryal
लोकपाटी न्यूज

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरूमा क्षमता नै हुँदैन भन्नेहरूलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

सकारात्मक आलोचनाका लागि सधैँ तयार हुनुपर्ने उल्लेख गर्दै उनले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन्। ‘महिलाहरूमा क्षमतानै छैन भन्नेहरूलाई जिम्मेवारीमा रहेका महिलाहरूले व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनु पर्दैन। यसलाई म सकारात्मक रूपमानै लिन्छु। सकारात्मक आलोचनाले आफूलाई सच्याउन मद्दत गर्दछ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुविधा श्रीमान् र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्ने गरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै उनले श्रीमान् श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताइन्। उनले भनिन्, ‘सबै ठाउँमा अनिवार्य हुने गरी लागू गर्न सकियो भने, सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित हुनेछ। यसले महिलामाथि हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ।’

अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफू अगाडी बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरू समेत झेल्नुपरेको बताइन्। तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्त्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उनले बताइन्।

नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफूले निकै ठूलो प्रलोभन र धाक धम्कीको सामना गर्नुपरेको भएपनी त्यसबाट नडराएर अगाडी बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको बताइन्। उनले अब जमिन पनि प्राप्त गर्ने दाबी गरिन्। ‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो। यो निकै चुनौतीपूर्ण कुरा थियो। मैले खुट्टा नटेकौं भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौं मेरा पुस्ता पुस्ताका निम्ति पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन, ‘तर म डगमगाइन, कुनै पनि लोभ लालच, डर धम्कीबाट नडराएर अगाडी बढे। नडगमगाईकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ।’

भूमि व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटी’को मन्त्रालयका रूपमा बुझिँदै आएको भन्दै उनले त्यहीबाट सबैभन्दा महत्त्वपूर्ण र राष्ट्रिय महत्त्वको काम गर्नुपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफू अगाडी बढेको बताइन्। मन्त्री अर्यालले भनिन्, ‘गर्न सकिने ठाउँ रहेछ, तथ्य प्रमाण रहेछ भनेर अगाडी बढ्यौ। यो त युगसम्म रहने कुरा नेपालको नक्सालाई अद्यावधिक गर्दै विगतमा छुटाएको जमिन सहित समेटेको नक्सा ल्यायौं। यो निकै महत्त्वपूर्ण कुरा हो।’

सगरमाथाको उचाइ नाप्ने कुरा पनि महत्त्वपूर्ण कार्य रहेको भन्दै उनले यसले राष्ट्रिय स्तरमा त्यति चर्चा पाउन नसकेपनी विश्वमा नेपालको सगरमाथाको उचाइ बढ्यो भन्ने कुरालाई निकै महत्त्वका साथ हेरिएको बताइन्। आफ्नो कार्यकालमा सुकुम्वासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उनले वैज्ञानिक भूमि व्यवस्थापनका निम्ति अव्यवस्थित बसोबासको पनि व्यवस्थापन पहिलो सर्त हो भन्ने मान्यताका साथ भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनमा सरकार लागेको बताइन्।

हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठुला मान्छेहरूकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्