काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार जाँदैछन्। ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्न खुमलटार जान लागेका हुन्।
ओली केही बेरमा खुमलटार आउन लागेको सूचना प्राप्त भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। नेकपा नेता सुवास नेम्वाङले प्रधानमन्त्रीसहित आफूहरु त्यहाँ आउन लागेको जानकारी दिएको उनले बताए।
‘कतिबेला आउने भन्ने ठ्याक्कै जानकारी आएको छैन्,’ सापकोटाले भने, ‘तर, आउँदै छौं भनेर उहाँहरुले यहाँको सुरक्षा संयन्त्रलाई जानकारी गराउनु भएको रहेछ।’ नेकपामा विवादले उग्र रुप लिएपछि प्रचण्डलाई फकाउन ओली प्रचण्ड निवास खुमलटार जान लागेको बताइएको छ।
विवाद उत्कर्षमा पुगेको बेला आजको ओली-प्रचण्डको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रचण्ड-नेपाल पक्षले शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा अध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिएको थियो।
गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश र प्रचण्ड-नेपाल समूहले संसद बोलाउन शीतल निवासमा बोलाएको हस्ताक्षर फिर्ता गर्ने निर्णय भएको थियो। तर प्रधानमन्त्री ओलीले उक्त अध्यादेश फिर्ता लिने मानेका छैनन्।
नेकपाको स्थायी कमिटीको बैठक भोलि बोलाइएको छ। उक्त बैठकमा पार्टीमा देखिएका विवाद हल गर्ने गरी निर्णय हुने अपेक्षा गरिएको छ।



लोकपाटी न्यूज

