काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको संकट समाधानका निम्ति केन्द्रमा प्रयास जारी रहेको छ। तर केन्द्रीय तहमा देखिएको नेकपा विवादको प्रभव प्रदेशमा पनि बलियो गरी देखिन थालेको छ। दुवै पक्षले प्रदेशमा पनि आ-आफ्नो समीकरण बनाउन थालेका छन्। आफू निकट नेताहरुको भेलालाई तीव्र बनाउँदै लगेको छन्। पार्टी नेतृत्व तहमा अन्तरविरोध बढेपछि पार्टीमा आउन सक्ने परिस्थितिका लागि तयारी रहन तल्लो तहसम्म गोप्य भेला र प्रशिक्षण दिन थालिएको छ।
प्रदेश १ मा पनि केन्द्रीय तहमा देखिएको विवादको प्रभाव बलियो गरी देखा पर्न थालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-वरिष्ठ नेता माधव नेपाल समूह संसदीय जोडघटाउमा लागेका छन्। प्रदेशमा आफ्नो पकड बलियो बनाउन दुवै समूह सक्रिय भएका छन्। यता प्रचण्ड-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट अध्यक्ष, सचिव तथा सांसदलाई प्रशिक्षण दिएको छ।
पार्टी नेतृत्वमा विवाद बढ्दै जाँदा विभाजनको मनोविज्ञानमा रहेका प्रदेश १ का सांसद र जिल्ला अध्यक्षदेखि वडास्तरसम्म गोप्य र सार्वजनिक भेला, बैठक हुन थालेका छन्। प्रदेशमा आफू बलियो रहेको सन्देश दिन दुवैले समूहले शक्ति प्रदर्शनसहित गुटगत भेला गर्न थालेका हुन्। पार्टी केन्द्रको विवादकै कारण प्रदेश १ मा ओलीका विश्वासपात्र मानिएका मुख्मन्त्री शेरधन राईविरुद्ध नेताहरू सक्रिय देखिएका छन्। प्रदेश केही सांसदहरूले मुख्यमन्त्री राईलाई पदबाट हटाउने आशयका अभिव्यक्ति समेत दिन थालेका छन्।
गत मंगलबार विराटनगरमा सम्पन्न प्रचण्ड-नेपालपक्षीय युवा तथा विद्यार्थी भेलामा नेकपा प्रदेश सांसद कूलप्रसाद साम्बा ‘कुशल’ ले मुख्यमन्त्री राईविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए। उनले प्रदेश १ का मुख्यमन्त्री राईले हालसम्म प्रदेशको नाम पनि राख्न नसकेकाले काम गर्न नसक्ने भए पद छोड्न चेतावनी दिए। अहिले दुवै समूहले संसदीय दलमा स्पष्ट बहुमतमा रहेको दाबी गरेका छन्। प्रदेश १ संसदीय दलमा प्रचण्ड-माधव समूहले आफ्नो समूहको ‘लिस्ट’समेत तयार पारिसकेको र स्पष्ट बहुमतमा रहेको दाबी गरेको छ।
प्रदेश १ का वरिष्ठ नेता नेपालनिकट एक केन्द्रीय सदस्यले प्रदेश संसदीय दलमा आफुहरू स्पष्ट बहुमतमा रहेको र त्यसको लिष्टसमेत तयार पारेको दाबी गरे। उनले आफूपक्षीय केन्द्रीय सदस्यको नाम खुलाउन नचाहे पनि वरिष्ठ नेता नेपालपक्षीय ३२ र अध्यक्ष प्रचण्डपक्षीय १५ गरि ४७ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरे।
‘पहिले पनि पार्टी अध्यक्ष ओलीले गुटबन्दी गरेर सिनियर नेता भीम आचार्यलाई बाइपास गरेर उहाँभन्दा धेरै जुनियर नेता शेरधन राईलाई मुख्यमन्त्री बनाइएको थियो। हाम्रो बहुमत हुँदाहुँदै पनि अनेक षड्यन्त्र गरेर संसदीय दलमा हराइयो’, ती नेताले भने, ‘अब पार्टी नफुटे पनि मुख्मन्त्री चाहिँ फेरिने परिस्थिति बनेको छ। प्रदेश सरकार परिवर्तन हुन्छ।’
ती नेताका अनुसार, प्रदेश १ मा ओलीका विश्वासपात्र मानिएका मुख्यमन्त्री राईलाई पार्टी नफुटे पनि प्रचण्ड-नेपाल समूहले हटाउने तयारी सुरु भएको छ। ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसद छन्। जसमध्ये प्रदीपकुमार भण्डारी सभामुख र सरस्वती पोखरेल उपसभामुख भएका छन्। तत्कालीन एमालेबाट ५२ र माओवादीबाट १५ सांसद छन्।
एमालेका तत्कालीन सचिव भीम आचार्यलाई संसदीय दलको निर्वाचनमा संसदीय दलका नेता राई दुई मतले मात्र पराजीत गरेका थिए। राईले २६ र नेता आचार्यले २४ मत प्राप्त गरेका थिए। तत्कालीन माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङ्बुहाङ उपनेतामा भएका थिए।



लोकपाटी न्यूज

