काठमाडौं। पार्टीभित्रको अन्तर्संघर्ष चुलिँदै जाँदा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा समूहगत भेलालाई तीव्रता दिएका छन्। कात्तिक दोस्रो साताबाट सुरु भएको दुवै पक्षको भेलाको शृंखला प्रदेश हुँदै जिल्ला र जनसंगठनमा विस्तारित हुँदै गएको छ। एक–डेढ महिनाकै बीचमा घोषित रूपमै एक दर्जनभन्दा बढी औपचारिक भेला भएका छन् भने दुवै पक्षले एकले अर्कालाई झुकाउने गरी स्थानीय तहसम्म अन्तर्संंघर्ष चर्काउन निर्देशनसमेत दिएका छन्।
प्रचण्ड–नेपाल समूहले शुक्रबार पेरिसडाँडास्थित जनसंगठनहरूको केन्द्रीय कार्यालयमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको भेला गरेको छ। भेलामा प्रदेश १ का १४ जिल्लाका उपलब्ध केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीसहित ६५ जना सहभागी थिए। बागमती प्रदेशका जिल्लाहरूको प्रदेश भेला गरेर निरन्तरता दिँदै यो समूहले अर्को समूहगत भेला गरेको हो। भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रदेश १ का इञ्चार्ज भीम आचार्यलगायतले व्यक्तिवादका विरुद्ध विधि र पद्धतिका पक्षमा चर्किएको अन्तर्संघर्षलाई तलसम्म संगठित रूपले विस्तार गर्न निर्देशन दिएका छन्। दुवै पक्षबीच भेला गर्ने होडबाजी तल्लो तहसम्म झन्झन् बढ्दै गएको छ।
यसअघि प्रचण्ड–नेपाल समूहले गत २५ मंसिरमा बागमतीअन्तर्गत १३ जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सचिवहरू सहभागी भेला गरेको थियो। बागमती प्रदेशमा प्रचण्ड–नेपाल समूहको आठ जिल्ला संयोजक छन्। जसमा प्रचण्ड समूहबाट रामेछाप, काभ्रे, चितवन र सिन्धुली तथा नेपाल समूहबाट सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र मकवानपुरमा जिल्ला संयोजक छन्। त्यस्तै, ओली समूहबाट काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ र दोलखामा जिल्ला संयोजक छन्। भेलामा प्रदेश कमिटी र जिल्ला कमिटीहरूमा बहुमतसहितको राम्रो पकड रहेको र यसलाई वैचारिक संघर्षकै रूपमा तलसम्म पु¥याउन नेताहरूले निर्देशन दिएका थिए।
त्यस्तै, गत २८ मंसिरमा प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का विद्यार्थीको भेला गरेको थियो। भेलालाई केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डललगायतले सम्बोधन गरेका थिए। भेलामा प्रदेश १ भरिका करिब पाँच सय विद्यार्थी सहभागी थिए।
त्यस्तै, २७ मंसिरमा ओली पक्षले मोरङको सुन्दरहरैँचामा भेला आयोजना गरेको थियो। पार्टी एकताका लागि युवा अभियान प्रदेश १ नाम दिएर गरिएको भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए। सम्बोधन गर्दै उनले एकताको मर्मविपरीत नजान प्रचण्ड–माधव समूहका नेतालाई चेतावनी दिएका थिए। उनले पार्टी एकताको महाधिवेशन गर्न बनेको अन्तरिम कमिटीले अल्पमत र बहुमतको विषय ल्याउन नहुने बताएका थिए।
त्यही दिन मोरङको गोठगाउँमा पनि शक्ति प्रदर्शनसहित ओली पक्षले युवाहरूको भेला सम्पन्न गरेको थियो। गोठगाउँमा भएको भेलामा ओली पक्षका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। ओली समूहले झापाको दमक, बिर्तामोड, मेचीनगर र भद्रपुरमा पनि गुट भेला गर्ने तयारी गरिरहेको छ। प्रचण्ड–नेपाल पक्षले पनि ३० मंसिरमा प्रदेश १ को राजधानी विराटनगरमा जिल्लास्तरीय युवा र विद्यार्थीको भेला गरेको थियो।
त्यसअघि प्रधानमन्त्री ओलीले १९ कात्तिकमा पहिलोपटक जुममार्फत प्रदेश १ स्तरीय कार्यकर्ता भेला आयोजना गरेका थिए। लगत्तै प्रचण्ड–नेपाल समूहले पनि १० मंसिरमा सुनसरीको इटहरीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो।
त्यसपछि १९ मंसिरमा प्रचण्ड–नेपाल समूहले थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो। मदन भण्डारी कलेजमा ओली समूहको विद्यार्थी भेला सम्पन्न भएलगत्तै प्रचण्ड–नेपाल समूहले पनि उस्तै भेला गरेर काउन्टर गरेपछि अहिले पनि दुवै पक्षले कुनै न कुनै भेला गरिरहेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।



लाेकपाटी न्यूज

