काठमाडौं। काठमाडौंको थानकोटबाट हराएकी १६ वर्षीया किशोरीलाई भारतको मध्यप्रदेशको इन्दौरनजिक सिहोर भन्ने स्थानबाट उद्दार गरिएको छ। प्रहरी र आफन्त नेपालको सक्रियतामा ती युवतिको उद्दार गरिएको हो। उद्दारपश्चात किशोरीलाई अहिले भोपाल बाल कल्याण समितिको संरक्षणमा स्थानीय बालगृहमा राखिएको थयो। हाल ती युवतीलाई अभिभावकको जिम्मा लगाई नेपाल ल्याइएको छ।
गत मंसिर ९ गते घरबाटै हराएपछि ती युवतिका बाबुआमाले खोजी कार्यका लागि थानकोट प्रहरीमा निवेदन दिएका थिए। त्यसपश्चात प्रहरीले काठमाडौं नाकाबाट बाहिरिने प्रत्येक सवारीसाधनमा निगरानी बढायो। तर, किशोरीको अवस्थाबारे पत्ता नलागेपछि प्रहरीले उनलाई भारत लगिएको हुन नसक्ने आशंका गर्यो। किशोरीको परिवारले पनि उनी भारतका दुई जना केटासँग निरन्तर सम्पर्कमा रहने जानकारी दिए।
त्यसपछि किशोरीलाई भारत लगिएको थाहा पाउने बित्तिकै प्रहरीले नेपाल र भारतमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको आफन्त नेपालको काठमाडौं मुख्यालयमा सम्पर्क गर्यो। त्यसपछि आफन्त नेपालले भारतस्थित आफ्नो शाखालाई यसबारे जानकारी गरायो। आफन्त नेपालले बालिकाको सबै विवरणको जानकारी आफ्ना भारतस्थित प्रतिनिधिलाई दियो। आफन्त नेपालले भारतीय प्रहरीसँग समन्वय गरेर बालिकासँग सामाजिक सञ्जालमार्फत् सम्पर्कमा रहेका दुई जना केटाको नम्बर पत्ता लगायो।
अनुसन्धानपश्चात् प्रहरीले मध्यप्रदेशको भोपालमा बस्दै आएका महेश नामाका युवक घटनामा संलग्न भएको शंका गर्यो। दिल्ली प्रहरीले मध्यप्रदेशको बालकल्याण समिति (सिडब्लुसी) लाई घटनाबारे जानकारी गरायो। सिडब्लुसीले तत्कालै मध्यप्रदेशको आष्टा जिल्ला अन्तर्गतको सिहोर प्रहरीलाई महेश सिलोरियालाई पक्राउ गरी छानवीन गर्न आदेश दियो।
सिहोर प्रहरीले ती युवकलाई पक्राउ गरी सोधपुछ गर्यो। प्रहरीको सोधपुछपछि महेशले किशोरीलाई आफूले बोलाएको र इन्दौरबाट एक महिलाका साथमा भोपाल ल्याएको स्वीकारे। यसरी स्थानीय प्रहरी र सिडब्लुसीका प्रतिनिधिको टोलीले सिहोर भन्ने स्थानबाट ती किशोरीको सकुसल उद्दार गर्यो। उद्दारपछि किशोरीले प्रहरीलाई दिएको जानकारीअनुसार दुई वर्षअघि टिकटकमार्फत् महेश नामको एक युवकसँग उनको सम्पर्क भएको थियो।
त्यसपछि उनीहरू फेसबुकमा साथी बनेका थिए। मेसेञ्जेर र ह्वाट्सएपमार्फत् उनीहरूबीच नियमित कुराकानी थाल्यो। प्रहरीका अनुसार महेशले किशोरीलाई माया जालमा पारेर विवाह गर्छु भनी आश्वासन दिएका थिए। महेशले विवाह गर्छु भन्दै किशोरीलाई योजनाबद्ध तरिकाले भोपाल बोलाएका थिए। फेसबुकमा बेग्लै आइडी बनाएका महेशले किशोरीलाई आफू भोपालको एउटा ठूलो कलेजको मालिक रहेको बताएका थिए। तर, महेशका पिताले सामान्य मजदुरी गरेर घरखर्च चलाउँदै आएको आफन्त नेपालले जानकारी दिएको छ।
किशोरीले आफू एउटा महिलासँग इन्दौरसम्म आएको र त्यहाँबाट एक जना केटीको साथमा उनलाई सिहोर पठाएको बताएकी छिन्। प्रहरीका अनुसार ती महिला र केटी को हुन भन्ने अझैसम्म खुलेको छैन। किशोरीलाई भोपालसम्म पुर्याउनका लागि ती केटी र महिलालाई महेशले नै खटाएको प्रहरीले आशंका गरेको छ। आफन्त नेपालका अनुसार ती केटी र महिलाको प्रहरीले खोजि गरिरहेको छ। आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईका अनुसार सामाजिक सञ्जालमार्फत यस्ता धेरै किशोरीलाई प्रलोभनमा पारेर बेचबिखन गर्ने काम तिब्र रुपमा बढिरहेको छ।



लोकपाटी न्यूज