काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको बताएका छन्। एक अन्तर्वार्तामा पोखरेलले अध्यादेशलाई अतिरञ्जित ढंगले नबुझ्न पनि आग्रह गरेका छन्। नेकपाका सचिवालय सदस्य पोखरेलले उक्त अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए ।
उनले भने, ‘अध्यादेशको लागि अध्यादेश थिएन, संविधानलाई अपदस्थ गर्न ल्याउने कुरा थिएन। संवैधानिक अध्यादेशलाई पुस १ गतेको तारतम्यसँग कसैले जोड्छ भने त्यो बेकारको कुरा हो।’ दुई वर्ष १० महिनादेखि रिक्त संवैधानिक निकायहरुमा नियुक्ति नहुँदा राज्य सन्चालनमा असर परेको भन्दै उनले त्यसलाई दुर्भाग्य भने। यद्यपि निकट भविष्यमै रिक्त पदहरुमा नियुक्त हुने उनले बताए।
मन्त्रीहरुलाई समेत थाहा नदिई भूमिगत शैलीमा अध्यादेश जारी गर्ने निर्णयबारे सोधिएको प्रश्नको जवाफ भने उनले दिएनन्। ‘कार्यसम्पादन गर्ने कुरामा कहाँ-कहाँ टाँण पर्यो त्यता म जान्न, त्यो हुन पनि सक्ला, त्यो छोड्दिनुस्,’ पोखरेलले भने, ‘संविधानको किटानी व्यवस्थाअनुसार अध्यादेश हुन्छ, त्यही संविधानको जगमा टेकेर अध्यादेश ल्याउने कुरालाई गल्ती थियो, गल्ती गर्यो भन्न सकिन्छ ?’
प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा परिषदको बैठकमा सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको आधारमा निर्णय गर्न सकिने गरी राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए। त्यसको पार्टीभित्र र बाहिरबाट पनि विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए।
नेता पोखरेलले पार्टीले फिर्ता लिने भन्दावित्तिकै अध्यादेश फिर्ता नहुने बताए। ‘अध्यादेश फिर्ता लिने निर्णय भएको हो। अध्यादेश फिर्ता गर्न फेरि न्यू प्रोसेस हुन्छ। यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले फिर्ता लिने भन्नेवित्तिकै फिर्ता लिने कुरा हुँदैन,’ उनले भने।
‘अध्यादेश ल्याउने कुरा संविधानकै प्रवन्धअन्तर्गत हो। फिर्ता लिनुपर्ने कुरा पनि त्यसको उपादेयताको सन्दर्भमा जब त्यो बाँकी रहँदैन भने आवश्यक परेन भने फिर्ता पनि लिइन्छ। अध्यादेश जारी गर्ने पनि संविधानको किटानी व्यवस्थाअनुरुप हुन्छ, फिर्ता लिने कुरा पनि त्यही हो,’ पोखरेलले थपे।
कुन-कुन निर्णय फिर्ता लिनुहुन्छ ? र कुन-कुन निर्णय कार्यान्वयन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा पोखरेलले भने, ‘रेडिमेड यसको उत्तर हुँदैन। मलाई मात्र होइन, कोही संविधानविद भन्नेहरुलाई पनि सोध्नुभयो भने उहाँहरुले उत्तर दिनु हुन्न।’



लोकपाटी न्यूज

