संवैधानिक परिषद्‍ले गर्‍यो १५ पदमा नियुक्ति सिफारिस

arisad_baithak_11111_BRXt7RVqYg
लोकपाटी न्यूज

काठमाडौं। संवैधानिक परिषद्ले १५ पदमा नियुक्ति सिफारिस गरेको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन)  अध्यादेश २०७७ पछि मंगलबार साँझ बसेको परिषद्को बैठकले करिब १५ पदमा नियुक्ति प्रक्रिया अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बसेको बैठकले १५ जनाको नियुक्ति प्रक्रिया अघि बढाएको उच्च स्रोतले बतायो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस हुने भनिएका पूर्व गृहसचिव प्रेमकुमार राईलाई भने निर्वाचन आयोगमा सिफारिस गरेको स्रोतको भनाई छ। उनलाई अख्तियारको प्रमुखमा नियुक्त गर्न नहुने ओली गुटभित्रै विरोध थियो। अन्य कुन कुन रिक्त पदमा नियुक्त गरिएको हो त्यसबारेमा खुलाइएको छैन। यद्यपि प्रधानमन्त्रीले मंगलबार नै नियुक्तिमा परेका व्यक्तिहरुको सूची राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरिसकेका छन्। प्रधानमन्त्रीले राती नै शीतलनिवास पुगेर उक्त नामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेलगत्तै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थियो। अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बिना नियुक्ति गर्न मिल्ने मिल्ने भएकाले मंगलबार साँझ बसेको बैठकले रिक्त रहेका ४६ पदमध्ये १५ पदमा नियुक्तिको सिफारिस गरेको हो।

यद्यपी यसमा प्रधानन्यायाधीशले बैठकमा नियुक्ति प्रक्रिया र कानुनी अड्चनबारे आफ्नो धारणा राखेका थिए। बैठकमा प्रधानन्यायाधीश राणाले प्रक्रिया र संविधान तथा ऐन कानुनका विषयमा कुरा उठ्नेबारे प्रधानमन्त्रीलाई सजग गराएका थिए। सोही कारण अझै नाम बाहिर ल्याइएको छैन। प्रधानमन्त्री निकट श्रोतले प्रधानमन्त्रीले नियुक्तिका लागि राखेका प्रस्तावहरूमा संसदीय समितिबाट निर्णय गराउन सकिन्छ कि सकिदैन भन्ने विषयमा समेत बैठकमा लामो छलफल भएको बतायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्