काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। सम्भवत: मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिद्वारा गत मंगलबार जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्न अर्को अध्यादेश जारी गर्नेछ।
बुधबार बसेको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकले राष्ट्रपतिबाट जारी भएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए।
स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए। सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ।



लोकपाटी न्यूज

