काठमाडौं। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकासँगको पाँच वर्षे सहायता प्रस्ताव फिर्ता लिएको छ। गत वर्ष फागुनमा विवादका कारण श्रीलंका सरकारले एमसीसी अघि नबढाउने निर्णय गरेको थियो। नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो।
डिसेम्बरमा १५ मा बसेको एमसीसी बोर्ड बैठकमा भएको मतदानमा श्रीलंकामा आफ्नो परियोजना बन्द गर्ने पक्षमा धेरै मत खसेको श्रीलंकाली पत्रिका डेली मिररले लेखेको छ। एमसीसीले यसबारेमा औपचारिक घोषणा भने गरिसकेको छैन। एमसीसीले श्रीलंकामा सडक र भूमि परियोजना सम्बन्धि परियोजनाहरु सञ्चालन गर्ने उल्लेख थियो।
एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंका सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन। परियोजना सन् २०१६ मै छनौट भए पनि काम भने अघि बढ्न सकेको थिएन।
पछिल्लो यहापालना सरकारको मन्त्रिपरिषदले सन् २०१९ को राष्ट्रपति निर्वाचन अगाडि एमसीसी परियोजना पारित गरेको थियो। तर निर्वाचनपछि गोताबाया राजापाक्षेको नेतृत्वमा बनेको नयाँ सरकारले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

