ओलीले अध्यादेश फिर्ता लिने, स्थायी समितिको बैठक पेचिलो बन्ने संकेत

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन्। बैठकअघि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई चरणमा छलफल भएको थियो।

छलफलमा एक अर्काका माग सम्बोधन गर्न तयार भएपछि ओली स्थायी समिती बैठकमा पनि सहभागी भएका छन्। प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए। जवाफमा ओलीले प्रचण्डसँग विशेष अधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर फिर्ता लिन शर्त राखेका थिए।

दुवै पक्षले एक अर्काको माग सम्बोधन गर्ने गरी सहमति बनेको छ। नेकपाका एक नेताका अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए।

अध्यादेश र निवेदन दुवै फिर्ता गर्ने अध्यक्षहरूबीच समझदारी भएपछि बैठक स्थिति बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने बुधबार प्रचण्ड-माधव नेपाल समूहका सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्