रौतहट। रौतहटमा विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ परेका छन्। बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका हुन्। फरक क्षमता (बहिरा) युवकसँग १५ वर्षीया बालिकाको विवाह भइरहेको बेला उनीहरुलाई मन्दिरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरी रहेका छन्।
रौतहटको गरुडा नगरपालिका-५ शिवनगर मन्दिरमा भइरहेको विवाहमा हस्तक्षेप गरी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। इशनाथ नगरपालिका-३ औरैयाका पुरोहित चौबेसहित बेहुला र बेहुली दुवै पक्षकालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
१५ वर्षीया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए।
धनसम्पतीको प्रलोभनमा पारी बालिकाको विवाह भइरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उपरिक्षक शाहले बताए। पक्राउ परेकाहरुलाई बालविवाह सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।



लोकपाटी न्यूज
