मन्त्रिपरिषदलाई जानकारी नदिई अध्यादेश पारित

Mantriparisad_Cabinet
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कुनै जानकारी नै नदिई मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिसका लागि पठाउने निर्णय गराएको खुलासा भएको छ।

कुनै जानकारी नै नपाएका कारण मन्त्रीहरूले मंगलबारको बैठकमा अध्यादेशबारे न त चासो व्यक्त गर्न पाए न आफ्नो सुझाब वा फरक मत नै प्रस्तुत गर्न पाए। मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि मात्र जानकारी पाएका कुनै पनि मन्त्रीहरूले त्यसमाथि औपचारिक टिप्पणी गरेका छैनन्।

मंगलबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले नियमित एजेन्डा मात्रै रहेको मन्त्रीहरूलाई जानकारी गराएका थिए। करिब ४५ मिनेट बसेको बैठकले अध्यादेश पारित गरेको र राष्ट्रपति कार्यालयबाट जारी भएको सूचना बैठकमा सहभागी भएका मन्त्रीहरूले साढे १ बजेपछि मात्र पाएका थिए।

‘अध्यादेशको एजेन्डा नै जानकारी गराइएको थिएन, भएको थाहा पाए त चासो राखिन्थ्यो, विरोध गर्न पनि सकिन्थ्यो होला। एकदमै सामान्य सेनाको बढुवा, पदस्थापनलगायत मात्र थिए,’ एक मन्त्रीले भने, ‘तर, हामी पनि साढे १ बजेपछि राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको भन्ने सूचना पाएपछि आश्चर्यचकित भयौं।’

मन्त्रिपरिषद् बैठक नियमित हिसाबले सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्ने उद्देश्यकै लागि मंगलबार आकस्मिक बैठक बोलाएका थिए। बैठकबारे मन्त्रीहरूलाई बिहान मात्रै सूचित गरिएको थियो। -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्