राष्ट्रपतिद्वारा पशुपतिनाथको क्षमा पूजा, भोलीदेखि भक्तजनका लागि खुल्ला

pashupati1
लोकपाटी न्यूज

काठमाडौं। भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन्।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्।

पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए। यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए। पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ।

मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन। पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खोलिने कोषाध्यक्ष डा. थापाले बताए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्