काठमाडौं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन्। उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन्।
लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वरेण्टीनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। बिग बास भने गएको बिहीबारदेखि नै सुरु भइसकेको छ। क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती छ खेल गुमाउने छन्। यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन्।
लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए। सन्दीप आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ। होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो।
अहिलेसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई हप्ताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। अहिले उनी कोरोनाबाट मुक्त भइसकेका छन्। रासस



लोकपाटी न्यूज

