काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन्। समन्वय नभएको, गृहकार्य नपुगेको र पुर्वतयारी पनि नभएको भन्दै सभामुख नजाने निर्णय भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन्। परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएको बताइन्छ। परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय नगरीकनै बैठक बोलाएपछि सभामुख नजाने निर्णयमा पुग्नु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
यस अघि मंसिर २८ गते आइतबार पनि परिषद्को बैठक बोलाइएको थियो तर सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि स्थगित भएको थियो। पछिल्लो समय नेकपाभित्र देखिएको विवादको असर संवैधानिक परिषद्को बैठकमा देखिएको छ। पाटीमा जारी विवादकाबीच संवैधानिक परिषद्को वैठक बोलाइएकोमा नेकपाभित्र असन्तुष्ट बढेको छ। हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको आरोप छ।
अहिले विभिन्न निकायमा गरेर ४५ पद रिक्त छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त गरी ३ पद खाली छ। त्यस्तै, निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त पद रिक्त छ। राष्ट्रिय महिला आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ। राष्ट्रिय दलित आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ। समावेशी आयोगमा अध्यक्ष सहित ४ पद रिक्त छ।
आदिवासी तथा जनजाती आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ। मधेशी आयोगमा ४ आयुक्त पद रिक्त छ। थारु आयोगमा ४ आयुक्त पद रिक्त छ। मुस्लिम आयोगमा ४ आयुक्त पद रिक्त छ। राष्ट्रिय मानव अधिकार आयोगमा केही समय अघि मात्रै अध्यक्ष सहित ४ आयुक्तको पद एकै पटक रिक्त भएपछि त्यहाँ पनि अध्यक्ष सहित ५ पद रिक्त छ। यसरी विभिन्न आयोगहरुमा लामो समयदेखि पदपुर्ती हुन सकेको छैन।


लोकपाटी न्यूज

