काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेस गर्न चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।
उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौँमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले आजसम्म विवरण पेस गर्न निर्देशन दिएका हुन्।
आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको छ। उता चिनी उद्योगीहरूले भने माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका थिए।
छलफलमा उद्योगीहरूले मन्त्री लेखराज भट्टसँग माइतीघर मण्डलामा आन्दोलन गर्ने व्यक्तिहरू उखु किसान नभएको जिकिर गरे। मन्त्री भट्टले उद्योगीहरूले आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएर बिचौलिया दाबी गरेको बताए। मङ्गलवार बिहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषि मन्त्री र गृहमन्त्री पनि सहभागी हुने मन्त्री भट्टले जानकारी दिए।


लोकपाटी न्यूज

