काठमाडौं। नेपालको संघीयता शासन प्रणाली पुस्तक विमोचन गरिएको छ। सङ्घीयता अध्ययन केन्द्र, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले सोमबार भर्चुअल कार्यक्रममार्फत् विमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री हृदेश त्रिपाठीले संघीयता नेपालको आवश्यकता रहेको र केन्द्रीकृत शासन प्रणालीले बारम्बार निरङ्कुशता ल्यााएकोले नेपाली समाजमा संघीयता ल्याइएको बताए। संघीयताको संरचनामा भौगोलिक पुर्नसंरचना भएको तर, प्रशासनिक पुर्नसंरचना अझै नभएको बताए।
उनले भने, ‘संविधानको महत्वपूर्ण उपलब्धी राजकीय सत्ता र सार्वभौमिकता जनतामा ल्याउनु हो। संघीयता दोस्रो महत्वपूर्ण उपलब्धी हो।’
संघीयता अध्ययन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्माण र संविधान र कानुनले गरेका व्यवस्था सहितको यो पुस्तक प्रकाशन गर्नु सरकारको संघीयताप्रतिको प्रतिवद्धता रहेको बताए। पुस्तक लेखन प्रकाशनका लागि मन्त्री त्रिपाठीले सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गरे।
नेपाल स्टाफ कलेजमा आयोजित उक्त कार्यत्रलम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न दलका नेताहरू, प्रतिनिधि सभा सदस्य, संसदिय समितिका सभापति, केन्द्रीय तथा प्रदेश सचिव, स्थानीय सरकार प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।



लोकपाटी न्यूज

